परीक्षामा कम नम्बर ल्याएको भन्दै शिक्षकले विद्यार्थी कुटे

परीक्षामा कम नम्बर ल्याएको भन्दै शिक्षकले विद्यार्थी कुटे

लमही ।  दाङको राजपुर गाउँपालिका-७ स्थित माध्यामिक विद्यालय सिक्टाका एक शिक्षकले विद्यार्थीलाई कक्षा कोठाभित्र प्लास्टिकको पाइपले कुटेका छन्। शिक्षक हेमराज विकले परीक्षामा नम्बर कम ल्याएको भन्दै विद्यार्थीमाथि कुटपिट गरेको भिडियोसमेत सार्वजनिक भएको छ। शिक्षकको कुटाइपछि आफू बिरामी परेको विद्यार्थी सर्मिला कुमालले बताइन्।

‘प्लास्टिकको पाइले धमाधम कुट्न थाल्नु भयो,’ कुमालले भनिन्, ‘चोट सहन नसकेर उपचार समेत गराएँ।’ कक्षा १० को गणित विषयको परीक्षामा नम्बर कम ल्याएको भन्दै शिक्षक विकले विद्यार्थीमाथि कुटपिट गरेका हुन्।

दुई हप्ताअघि ती शिक्षकले कुटपिट गरेको घटना अहिले सार्वजनिक भएको हो। विद्यार्थीमाथि कुटपिट गर्ने शिक्षकमाथि अभिभावकले कारबाहीको माग गरेका छन्। तर, शिक्षकले विद्यार्थीले भनेको नमान्दा र परीक्षामा नम्बर कम ल्याएकाले सामान्य सजाय दिएको दावी गरेका छन्।

विद्यार्थीलाई पिट्नु बालबालिका विरुद्धको हिंसा हो। संविधानको धारा ३९ ले ‘बालबालिकालाई घर, विद्यालय वा अन्य जुनसुकै स्थान र अवस्थामा शारीरिक, मानसिक वा अन्य कुनै किसिमको यातना दिन पाइने छैन’ भनेको छ।

बालबालिका सम्बन्धी ऐन, २०७५ ले घर, विद्यालय वा जुनसुकै स्थानमा शारीरिक वा मानसिक दण्ड दिने वा अमयार्दित व्यवहार गर्ने र शारीरिक असर वा चोट पुर्‍याउनेलाई ५० हजार रुपैयाँसम्म जरिवाना र एक वर्ष कैद सजाय तोकेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार