सल्ले अस्पतालमा चलाईएको निशुल्क खाना खुवाउने अभियान बन्द

सल्ले अस्पतालमा चलाईएको निशुल्क खाना खुवाउने अभियान बन्द

मुसिकोट । कोरोना संक्रमित बिरामी र उनका आफन्तहरुलाई लक्षित गरी रुकुम पश्चिममा सुरुवात गरिएको निशुल्क खाना खुवाउने अभियान आज एक कार्यक्रमका बिच समापन गरिएको छ । जिल्ला अस्पताल सल्लेमा नेकपा बिप्लव समुहद्धारा बनाईएको एक स्वयमसेवक समुहले गत जेठ ७ गते देखि चलाएको निशुल्क खाना तथा खाजा खुवाउने अभियान ५१ दिनपछि समापन गरेको हो ।

कोरोना भाईरसको संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालयद्धारा जिल्लामा निशेधाज्ञा जारी गरिएको र अस्पताल भित्र सञ्चालित चमेना गृहले पनि गुणस्तरहिन र महंगो खाना तथा खाजा खुवाएको गुनासोपछि निशुल्क खाना खुवाउने अभियान चलाएको अभियानका संयोजक तथा नेकपा रुकुमका जिल्ला कार्यालय सदस्य नरेन्द्र बि.क.ले बताउँनुभयो । ‘बाहिर होटल तथा खाजा पसल बन्द भएपछि अस्पतालमा आउने बिरामी र उनका कुरुवाहरु समस्यामा परेका थिए’ संयोजक बि.क.ले भन्नुभयो ‘यस्तो महामारीको बेलामा मानवीय सेवाको लागि निशुल्क खाना खुवाउने अभियान चलाएका हौ ।’ ५१ दिन सम्म निशुल्क खाना खुवाएको बताउनुहुँदै उहाँले निषेधाज्ञा पनि खुकुलो भई होटेल तथा रेष्टुरेन्ट समेत खुला गर्ने जिल्ला कोभिड व्यबस्थापन केन्द्रको निर्णय भएकोले हाललाई उक्त अभियान समापनको चरणमा लिएको जनाउँनुभयो ।

समापन कार्यक्रममा निशुल्क खाना तथा खाजा खुवाउने अभियानमा करिब १ हजार १ सय ४४ जनालाई झण्डै ४ हजार ८ सय ४५ छाक खाना खुवाएको जानकारी दिईएको छ । यस अवधिमा अस्पतालमा कार्यरत कर्मचारी तथा स्वास्थ्यकर्मीलाई समेत खाजाको व्यबस्था गरेको जनाईएको छ ।

संयोजक बि.क.ले अभियान व्यबस्थापनको क्रममा ५ लाख ३९ हजार ८ सय ३० रुपैया खर्च भएको र ३ लाख ३७ हजार २ सय ५० बराबरको बिभिन्न जिन्सी सामान सहयोगीदाताहरुबाट प्राप्त भएको बताउँनुभयो । उहाँले व्यवस्थापकीय रुपमा २ लाख १ हजार ७ सय रुपैया तिर्न बाँकि रहेको समेत जानकारी दिनुभयो ।

समापन कार्यक्रममा नेकपा विप्लव समुहका जिल्ला सेक्रेटरी चन्द्रबहादुर बुढाले अभियानमा सहयोग गर्ने बिभिन्न सहयोगीदाताहरुलाई धन्यबाद व्यक्त्त गर्नुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार