महिला तथा बालबालिकामाथि हुने हिंसाका घटनामा प्रहरीलाई गम्भिर बन्न गृहमन्त्री खाणको निर्देशन

महिला तथा बालबालिकामाथि हुने हिंसाका घटनामा प्रहरीलाई गम्भिर बन्न गृहमन्त्री खाणको निर्देशन

काठमाडौ । महिला तथा बालबालिकामाथी हुने हिंसाका घटनामा गम्भिर बन्न गृहमन्त्री बालकृष्ण खाणले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएका छन् । गृहमन्त्री खाणले आइतबार प्रहरी प्रधान कार्यालय नक्सालको निरीक्षणपछि आयोजित एक समारोहमा आत्महत्या, महिला तथा बालबालिका विरुद्ध हुने हिंसाप्रति राज्य अत्यन्तै संवेदनशील रहेको बताउँदै प्रहरी प्रधान कार्यालयलाई पनि गम्भिर बन्न निर्देशन दिएका हुन् ।

उहाँले प्रहरी र सरकार एउटै सिक्काका दुईवटा पाटा भएको चर्चा गर्दै सरकार र प्रहरीको सम्बन्धलाई अझ बढी सुदृढ, सबल र प्रगाढ बनाई जनताको संविधानको रक्षा र पालना तथा नागरिकको जिवन रक्षाको लागि सबै गम्भीर हुनुपर्ने बताए ।

प्रहरी राज्य र समाजको अभिन्न अंग रहेको चर्चा गर्दै गृहमन्त्री खाणले प्रहरीको साथसाथै नागरिकको भूमिकलाई समेत सहजता एवम् सफलताका साथ निर्वाह गर्न प्रहरी कर्मचारीले सक्षमता प्राप्त गर्नेमा विश्वास व्यक्त गरे । सुरक्षाको दृष्टिकोणले ज्यादै नै संवेदनशील ठाउँमा आम नागरिक तथा जनप्रतिनिधिबाट प्रहरी कार्यालयको स्थापना, स्तरवृद्धि, आधुनिकिकरणको माग एवम् सुझाव आएको उल्लेख गर्दै सबै प्रहरीको क्षमता अभिवृद्धि, अपराध नियन्त्रण एवं अनुसन्धानमा प्रविधिको प्रयोग, नविन भूमिका एवम् दायित्वको लागि नेपाल सरकार पूर्ण सकारात्मक रुपमा अगाडि बढेको गृहमन्त्री खाणले बताए ।

प्रहरीको कार्यालय स्थापनाको लागि जग्गा, निर्माण सामाग्री उपलब्ध गराउने एवम् आर्थिक सहयोग गरी प्रहरीको हौसला बढाउन सहयोग गर्ने दाता तथा नागरिकप्रति पनि उनले सम्मान प्रकट गरेका छन् । सामाजिक दायित्वको रुपमा आउने बहुआयमिक समस्यालाई सम्बोधन गर्न नेपाल प्रहरी सदैव पहिलो पंक्तिमा रहेर आफ्नो कर्तव्य निर्वाह गरेको चर्चा गर्दै गृहमन्त्री खाणले कोभिड–१९ संक्रमण नियन्त्रण एवम् रोकथामको लागि नेपाल प्रहरीले संचालन गरेको अभियान सराहनीय रहेको बताए ।

साथै मुलुकको शान्ति सुव्यवस्थामा नेपाल प्रहरीका सेवानिवृत्त प्रहरी कर्मचारीको क्षमताको उपयोग गर्नुपर्ने र आमनागरिकहरुसँग समन्वय र सहकार्य गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए । निरीक्षणका क्रममा गृहमन्त्री खाणले प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गरेका छन् भने प्रहरी प्रधान कार्यालयस्थित डिजिटल फरेन्सिक ल्याव, पोलीग्राफ सेक्सन, डाटा सेन्टर र केन्द्रीय प्रहरी हेल्थ डेक्सको निरीक्षण गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे जानकारी समेत लिएका छन् ।

 

 

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार