कर्णालीमा निर्वाचनका लागि सबै तयारी पुरा

कर्णालीमा निर्वाचनका लागि सबै तयारी पुरा

आइतबार हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि कर्णालीमा सबै तयारी पुरा भएको जनाएको छ । प्रदेशभरको सुरक्षा कडा पारिएको छ भने निर्वाचनका अन्य तयारी पुरा भएको निर्वाचन आयोगले जनाएको छ ।

कर्णाली प्रदेशका १० जिल्लाका सबै निर्वाचन क्षेत्रमा सुरक्षा कडा पारिएको हो । प्रदेश प्रहरी कार्यालयका अनुसार कर्णाली प्रदेशभर १४ हजार ८०७ सुरक्षाकर्मी परिचालन गरिएको छ । कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक एवं प्रवक्ता माधवप्रसाद श्रेष्ठले निर्वाचनलाई निष्पक्ष, भयरहित बनाउन मतदान स्थलमा पाँच हजार सात सय २९ जना नेपाल प्रहरी र नौ हजार ७८ जना म्यादी प्रहरी गरी १४ हजार ८०७ जना सुरक्षाकर्मी खटाइएको जानकारी दिनुभयो । उहाँले निर्वाचनलाई शान्तिपूर्ण बनाउनका लागि प्रहरीबाट मतदान स्थल रहेको वडा क्षेत्रमा पैदल गस्ती, प्रत्येक नगरपालिका तथा गाउँपालिकामा प्रहरी अधिकृतको कमान्डमा गाडी मोबाइल गस्ती र रिजर्भ टोलीसमेतको व्यवस्था गरी सुरक्षा प्रबन्ध मिलाइएको जानकारी दिनुभयो । निर्वाचन आयोगको कर्णाली प्रदेश कार्यालयका अनुसार सबै जिल्लामा रहेका मतदान केन्द्रका कर्मचारीहरू तयारी अवस्थामा छन् ।

कर्णालीमा १० लाख ८ हजार ४०३ मतदाता रहेका छन् भने १ हजार ४ सय ७६ मतदान केन्द्र रहेका छन् । जसमा हुम्ला जिल्लामा ३२ हजार ८५७ मतदाता सङ्ख्या, मतदान केन्द्र ५९, डोल्पामा २२ हजार ७७२ मतदाता सङ्ख्या, ६६ मतदान केन्द्र, सुर्खेतमा २ लाख ४३ हजार ६१४ मतदाता संख्या र मतदान केन्द्र २९३, दैलेखमा १ लाख ५८ हजार ९५८ मतदाता संख्या र मतदान केन्द्र २८०, रुकुम पश्चिममा १ लाख ४ हजार २८० र मतदान केन्द्र १३९,  कालीकोटमा ८० हजार ७३३ मतदातासंख्या र मतदान केन्द्र १२३, जाजरकोटमा १ लाख ३ हजार ३६३ मतदातासंख्या र मतदान केन्द्र १४२, जुम्लामा ६८ हजार ६३८ मतदातासंख्या र मतदान केन्द्र १०६, मुगुमा ३५ हजार ४८५ मतदातासंख्या र मतदान केन्द्र ६६ र सल्यानमा १ लाख ५७ हजार ७०१ मतदातासंख्या र मतदान केन्द्र २०२ रहेका निर्वाचन अयोगले जनाएको छ । यस्तै, कर्णालीमा सुरक्षाका दृष्टिकोणले ३ सय ४५ मतदान केन्द्र अति संवेदनशील मानिएका छन् भने ४ सय १३ मतदान केन्द्र संवेदनशील रहेका आन्तरिक मामिला तथा कानुन मन्त्रालय कर्णाली प्रदेशले जनाएको छ । मन्त्रालयका अनुसार कुनै घटना घटेमा १५ देखी ३० मिनेट भित्र मतदान केन्द्रमा पुग्ने गरी नेपाली सेनालाई तयारी अवस्थामा राखिएको छ ।

निर्वाचन आयोग कर्णाली प्रदेश कार्यालय प्रमुख दुर्गाप्रसाद चालिसेले कर्णाली प्रदेशका सबै जिल्लामा मतदान अधिकृत, कर्मचारी तथा सामग्री पुगिसकेको जानकारी दिनुभयो ।

यस्तै, माथिल्लो कर्णालीका जिल्लामा हिमपात सुरु भएका कारण हेलिकप्टर मतपेटिका ढुवानी तथा निर्वाचन सामग्री ओसारपसार गरिएको निर्वाचन आयोगले जनाएको छ । सुर्खेत जिल्लाभर तीन हजार ५०० सुरक्षाकर्मी परिचालन गरिएको छ । सुर्खेतमा १३९ स्थायी तथा दुई वटा अस्थायी मतदान स्थल छन् । तीमध्ये २० वटा अति संवेदनशील, ८६ वटा संवेदनशील र ३५ वटा सामान्य मतदान स्थल छन् । सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालका अनुसार नेपाल प्रहरीका १९ वटा मोबाइल टोली, दुइटा रिजर्भ टोली, जिल्लाभर निगरानी गर्ने गरी प्रहरी नायब उपरीक्षकको कमान्डमा एउटा टोली परिचालन गरिएको छ ।

यस्तै, सुर्खेत जिल्लाभर सशस्त्र प्रहरीको १२ वटा मोबाइल टोली परिचालन गरिएको छ । सशस्त्र प्रहरीकै चार वटा स्ट्राइकर फोर्स र दुइटा निर्वाचन सुरक्षा बेस परिचालन गरिएको छ । सुर्खेतका १३९ स्थायी मतदान स्थल, दुइटा अस्थायी मतदान स्थल अन्तर्गतका २९३ वटा मतदान केन्द्रमा कर्मचारी र निर्वाचन सामग्री पुगिसकेका छन् ।

यस्तै, चीनको तिब्बतसँग जोडिएका कर्णालीका सीमा नाका बिहीबार राती १२ बजेदेखि नै बन्द गरिएको छ । निर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्थालाई कडाइका लागि कर्णाली र तिब्बतसँग जोडिएका सीमा नाका बन्द गरिएको हो । चीनको तिब्बतसँग नाका जोडिएका कर्णाली प्रदेशका हुम्ला र डोल्पा जिल्लाका सीमा नाकामा सुरक्षा व्यवस्थालाई कडाइ पारिएको हो । हिमाली जिल्ला हुम्लामा चीनसँग जोडिएका सीमा नाकाहरू भने पूर्ण रूपमा बन्द गर्ने निर्णय भएको हुम्लाका प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार