रुकुम पश्चिममा सरकारी भवन प्रयोग नभई जीर्ण

रुकुम पश्चिममा सरकारी भवन प्रयोग नभई जीर्ण

रुकुम पश्चिमको मुसीकोट–१ सालघारीस्थित संघीय आयोजना कार्यान्वयन इकाइको प्रयोगविहीन भवन । तस्बिर सौजन्य महेश केसी

मुसिकोट । रुकुम पश्चिममा ठूलो लगानी गरेर बनाइएका विभिन्न सार्वजनिक तथा सरकारी भवन प्रयोग नभई जीर्ण हुन थालेका छन् ।
जिल्लाको मुसीकोट नगरपालिका वडा नम्बर १ सालघारीमा संघीय आयोजना कार्यान्वयन इकाइको भवन बनेको करिब एक दशक भयो । झन्डै २ करोड रुपैयाँ खर्चिएको उक्त भवन अहिले अलपत्र छ । इकाइको उक्त भवन निर्माण भएदेखि नै प्रयोगविहीन छ ।

संघीयताअघि भवन डिभिजनअन्तर्गतका कार्यालयहरू प्रत्येक जिल्लामा बनाउने गरी भवन निर्माण गरिए पनि संरचना परिवर्तन भएपछि कार्यालय अलपत्र भएको संघीय आयोजना कार्यान्वयन इकाइ सुर्खेतका प्रमुख अमर थापाले बताउनु भयो । ‘संघीय संरचना आएपछि कार्यालय जिल्लामा नहुने भयो, त्यसैले बनेको संरचना पनि प्रयोगविहीन छ,’ उहाँले भन्नुभयो, ‘अबको एक महिनाभित्र कार्यालय सुचारु गरिनेछ ।’

यस्तै मुसीकोट नगरपालिका वडा नम्बर १ मठमा करिब १२ वर्षअघि वृद्धाश्रम बनाउने भनेर निर्माण गरिएका दुईवटा भवन पनि प्रयोग नै नगरी जीर्ण भएका छन् । जसमा झन्डै ९० लाख रुपैयाँ खर्च भएको छ ।

मुसीकोट नगरपालिका वडा नम्बर ५ बागबजारस्थित जनकपुर चुरोट कारखानाको जग्गामा तरकारी संकलन केन्द्र बनाउन ६ वर्षअघि मुसीकोट नगरपालिकाले निर्माण गरेको संरचना पनि लापरबाहीपूर्ण तरिकाले छोडिएको छ । भवनमा के–कति लगानी भएको हो र के प्रयोजनका लागि बनाइएको हो भनेर स्पष्ट जानकारी नभएको भन्दै वडाध्यक्ष समीरजंग मल्लले यसलाई कसरी प्रयोगमा ल्याउन सकिन्छ भन्नेबारे योजना बनाइरहेको बताउनु भयो ।

सदरमुकाम खलंगा बजारको मध्यभागस्थित कर्मचारी मिलन केन्द्रको भवन पनि प्रयोगविहीन भएको झन्डै ५ वर्ष पुग्यो ।

जिल्लामा सरकारी लगानीमा बनेका संरचनाहरूको सदुपयोग गर्न पहल भइरहेको रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले बताउनु भयो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार