पोखराका होटल र रेस्टुरेन्ट तत्काल नखुल्ने

पोखराका होटल र रेस्टुरेन्ट तत्काल नखुल्ने

काठमाडौँ । असोज १ गतेदेखि होटल र रेस्टुरेन्ट खोल्न दिने निर्णय गरे पनि पोखराका व्यवसायीले अहिले नखोल्ने भएका छन् । संक्रमण तीव्र गतिमा बढिरहेको र पाहुना आउजाउ हुने अवस्था नरहेकोले तत्काल होटल र रेस्टुरेन्ट नखोल्ने व्यवसायीहरुले जानकारी दिएका छन ।

सरकारले निकै कम समय दिएर अनुमति दिएकोले बिहीबारदेखि नै खोल्ने अवस्था नरहेको व्यवसायीहरुको भनाइ छ । घर गएका कर्मचारी नफर्केकोले पनि तत्काल काममा फर्किन सहज नहुने उनीहरू बताउँछन् ।

पोखराको सांग्रिला रिसोर्टका आवासीय म्यानेजर गुप्त गिरीले बिहीबारदेखि नै होटल खोल्ने तयारी नरहेको बताए । ‘हाम्रो तयारी अहिलेका लागि छैन,’ गिरीले भने, ‘कामदार पनि यहाँ छैनन् । घर गएका उनीहरूलाई तत्कालै बोलाउने अवस्था छैन ।’ पाहुना आउने अवस्था नरहेकोले पनि होटल खोल्न नसकिने उनले बताए । सांग्रिला रिसोर्ट अक्टोबरदेखि सञ्चालनमा ल्याउने तयारीमा जुटेको उनले बताए । गिरीले भने, ‘अक्टोबर १ सम्ममा अवस्था सामान्य हुन सक्छ । चहलपहल बढ्न सक्छ ।’ होटल र रेस्टुरेन्टका अहिलेका पाहुना आन्तरिक मात्र हुने भएकोले पनि व्यवसाय खोल्न हतार गर्न नहुने उनले बताए ।

लामो दुरीको गाडी र आन्तरिक हवाई यात्रा खुलेपछि अक्टोबरसम्म आन्तरिक पाहुना आउन थाल्ने उनको अनुमान छ । पोखराकै अतिथि रिसोर्ट भौतिक रूपमा तयारी अवस्थामा रहे पनि अहिले नै पाहुना आउने सम्भावना नहुँदा कमाइभन्दा घाटा हुने सञ्चालक भरतरात शर्मा बताउँछन् । ‘९० प्रतिशतभन्दा बढी कर्मचारी घरमा छन,’ उनले भने, ‘अहिले नै पाहुना आउने सम्भावना नरहेकोले ती कर्मचारीलाई बोलाउने अवस्था छैन ।’

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार