आइतबार बस्ने भनिएको संवैधानिक परिषद् बैठकमा देउवा सहभागी नहुने

आइतबार बस्ने भनिएको संवैधानिक परिषद् बैठकमा देउवा सहभागी नहुने

काठमाडौँ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार बस्ने भनिएको संवैधानिक परिषद्को बैठकमा सहभागी हुन नसक्ने जानकारी दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान ९ बजेलाई परिषद्को बैठक बोलाएका छन् । तर, शनिबार नै देउवाले आइतबारको बैठकमा उपस्थित हुन नसक्ने जानकारी प्रधानमन्त्रीलाई गराएको उनी निकट एक नेताले बताए ।

संवैधानिक परिषद्को बैठकमा प्रमुख विपक्षी दलको नेता अनिवार्य उपस्थित हुनुपर्ने प्रावधान छ । अहिलेसम्म बैठक स्थगित भएको सूचना भने जारी नगरिएको स्रोतले बतायो ।

परिषद्को बैठक बोलाए लगत्तै शुक्रबार प्रधानमन्त्री ओली र विपक्षी दलका नेता देउवाबीच भेटवार्ता पनि भएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, महिला आयोग लगायत विभिन्न संवैधानिक निकायमा गरी ४० भन्दा बढी पद रिक्त छन् । नियुक्तिको विषयमा छलफल भएपनि प्रधानमन्त्री र देउवाबीच सहमति जुट्न भने सकेको छैन ।

अर्कोतर्फ मंसिर २९ मा कांग्रेसले सरकारविरूद्ध देशव्यापी प्रदर्शन गर्दैछ। प्रदर्शनको एक दिन अघि प्रधानमन्त्रीले परिषद्को बैठक बोलाएपछि त्यसलाई कांग्रेस नेताहरुले शंकाको दृष्टिले हेरेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार