बच्चा र बन्दुक सँगै बोकेर लड्न सक्नेले सरकार चलाउन पनि सक्छ!

बच्चा र बन्दुक सँगै बोकेर लड्न सक्नेले सरकार चलाउन पनि सक्छ!

एउटा हातमा बच्चा र अर्को हातमा बन्दुक बोकेर १० वर्षे द्वन्द्व लडेका महिला यतिखेर अर्थपूर्ण अवसरको खोजीमा छन्। हरेक पटकका व्यवस्था परिवर्तनमा अग्रभागमा देखिने महिला अवसरका समयमा ओझेलमा पारिने गरेको इतिहास साक्षी छ। जनसंख्यामा मात्र नभएर त्याग र लगानीका हिसाबले पनि पुरुषभन्दा कहीकतै कमजोर नभएका उनीहरुलाई निर्वाचनका समयमा भुल्नु दुर्भाग्य हो।

निर्वाचनको मिति घोषणा भए सँगै अर्थपूर्ण सहभागिताको माग गर्न थालेका महिलाहरु फेरि पनि उपेक्षामा पारिन्छन् कि भन्ने चिन्ता र चासो सर्बत्र छ। प्रशव पीडा सँगै युद्ध र आन्दोलन थेग्न सक्ने उनीहरुले स्थानीय सरकार सहज रुपमा नेतृत्व गर्न सक्छ भन्ने मानसिकता आज पनि उधारो छ।

यतिखेर महिला भनेका ‘उप’ हुन भन्ने दरिद्र मानसिकताले सबैको मनमा डेरा जमाएको छ

काधमा काध जोडेर ‘युद्ध र व्यवस्था’ परिवर्तन लगायतका आन्दोलनमा बराबर सहभागिता जनाएका क्षमतावान र दक्ष महिला जनशक्तिलाई फेरि पनि संविधानले अनिवार्य भनेका पदमा मात्र सहभागिता गराइनु दुःखद् हुने छ। घर, परिवार, छिमेक र समाजलाई गति दिने ठूलो हिस्सालाई पाखा लगाएर गरिने निर्णय गतिलो हुँदैन भन्ने प्रमाण देशको वर्तमान अवस्था पनि हो भन्ने हेक्का राख्न जरुरी छ।

यतिखेर महिला भनेका ‘उप’ हुन भन्ने दरिद्र मानसिकताले सबैको मनमा डेरा जमाएको छ। त्यसो त सम्भावित गठबन्धनपछिका उम्मेदवारीमा फेरि पनि महिला पछि पारिन्छन् कि भन्ने अर्को त्रास यथावत नै छ। महिला नेतृत्वमा आएपछि ओझेल परिने भयले पुरुषलाई अवसर हस्तान्तरणमा असर गर्ने गरेको छ। माउ पार्टी वा अग्रज भनिने नेतृत्वले महिला लगायत पछाडि पारिएका समूहलाई अवसरमा बन्चित गरेका कारण ठूलो हिस्सा आज पनि पछाडि नै परिरहेको छ।

२०७४ को स्थानीय तहको निर्वाचनमा १ लाख ४८ हजार ३ सय ६४ जनाले उम्मेदवारी दिएका मध्ये ६१.०१ प्रतिशत पुरुष र ३८.९८ प्रतिशत महिलाको सहभागिता थियो। निर्वाचित ३५ हजार ३४ जना जनप्रतिनिधिहरु मध्ये ५९.०४ प्रतिशत पुरुष र ४०.९६ प्रतिशत महिला थिए। समग्रमा स्थानीय तहको निर्वाचनले महिलाहरुको ४० प्रतिशत सहभागिता सुनिश्चित गरेको थियो। जम्मा निर्वाचित प्रतिनिधिहरु मध्ये १८.७५ प्रतिशत दलित महिलाको उपस्थिती थियो।

देशका हर परिवर्तनमा बराबर साथ दिएका महिलाहरुलाई आसन्न निर्वाचनमा अर्थपूर्ण सहभागिताका लागि सबैले समय मै पहलकदमी लिने समय आएको छ। आधा आकाश ढाकेका सबैकी जननीलाई समानता सँगै समतामुलक न्यायका लागि आसन्न निर्वाचनमा अर्थपूर्ण सहभागिता गराउन सबैले पहल गरौँ। अस्तु! (नागरिक न्यूज डटकम बाट)

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार