गठवन्धन¸ मुसिकोटमा मेयर उम्मेदवार र अमुक सम्भावना

स्थानीय तह चुनाव सम्बन्धि विश्लेषण

गठवन्धन¸ मुसिकोटमा मेयर उम्मेदवार र अमुक सम्भावना

स्थानीय तह चुनाव सम्बन्धि विश्लेषण

पाँचदलीय गठवन्धन देशैभरी हुने नै हो !? केही फाट्टफुट्ट बाहेक अन्यत्र सहमतीका साथ नै अगाडी बढ्ने अवस्था हो यदि भने गठवन्धनबाट असन्तुष्ट केही काँग्रेसीजनको मत एमाले वा राप्रपातिर जानसक्छ वा बागी उम्मेदवार उठी निर्वाचन परिणाम केही तलमाथि पर्नसक्छ । देशभरी समष्टिगत रुपमा एमाले राप्रपातिर केही मत बढ्नसक्छ । तर निर्वाचनमा मत धेरै ल्याएर मात्र अर्थपुर्ण हुँदैन । २०७४ सालको संघीय चुनावमा कांग्रेसको मत एमालेभन्दा केही मात्र कम थियो तर निर्वाचन परिणाम काँग्रेसको पक्षमा परेन । अमेरिकामा राष्ट्रपति चुनावमा हिलारी क्लिन्टनले ट्रम्पभन्दा २० लाखभन्दा बढी लोकप्रिय मत ल्याएर पनि चुनाव हारेको इतिहास हामीले पढेकै छौँ । चुनावमा जोडजम्मा गरी¸ देशैभरी लोकप्रिय मत ल्याउनु भन्दा सम्बन्धित स्थानमा विजित हुने मत ल्याउनु पर्छ । अर्थात प्राविधिक रुपमा सबैभन्दा बढी मत ल्याउन सक्नुपर्छ । देशैभरीको मत जोडेर घटीबढी मतभार लोकप्रिय मतको अर्थ लाउनुको कुनै अर्थ हुँदैन ।

 

पार्टी संगठन भनेको पार्टी संगठन नै हो । यो व्यक्तिका असन्तुष्टीभन्दा धेरै नै निर्णायक र प्रभावकारी हुन्छ । पार्टी संगठनले गरेको निर्णयको प्रभाव आम रुपमा परिनै हाल्छ । केही प्रतिशत तलमाथि भए पनि पार्टीको निर्णय लागु हुनसक्छ । मुख्य कुरा काँग्रेस भित्र शेखर समुहको निर्णय संस्थागत नै हुन्छ कि केही फाट्टफुट्ट असन्तुष्टिमा सीमित हुन्छ । त्यसमा भर पर्छ । चुनावको मुखमा मिल्नुहुन्न¸ गठवन्धन गर्नुहुन्न भनी उहाँहरुको समुह पनि अडिग हुंदैन होला । नेपालका दलहरु बाहिर जति फुँई हाँकेपनि भित्रभित्रै खोक्रा र कमजोर छन् । भित्रभित्रै सबैका चित्र काल्लिएका हुन्छन । भय र पराजयको ढ्याङ्ग्रो अन्तरआत्माको मनमा ठोकिएकै हुन्छ । दल भित्रका नेताहरु पनि गुट उपगुट व्यक्तिगत तिक्तताले भरिपुर्ण छन् । एउटा उम्मेदवार हुने वित्तिकै अर्को समुहले सहयोग गर्छ भन्ने शत प्रतिशत ग्यारेन्टी विश्वास पनि छैन । त्यस्तै चुनावमा सानोभन्दा सानो शक्तिको पनि भय डर लाग्ने मनोविज्ञान सबैको हुन्छ । खेलमा सानोभन्दा सानो त्रुटीले पनि गेम हारिनसक्छ । सही रणनीति भएन भने जस्तोसुकै शक्तिशाली उम्मेदवार पनि हार्नसक्छ । ७४ मा देशैभर बाम गठवन्धनले चुनाव जित्दा बर्दियामा सिंह बाघझैँ गर्जिने बामदेव गौतमले चुनाव हारेको हामीले बिर्सिएका छैनौ । काँग्रेसका कृष्ण प्रसाद भट्टराइले चुनाव हारेको¸ माधव नेपालहरुलाई झक्कुप्रसाद सुवेदीहरुले गुल्ट्याएको विगत हामीले भुलेका छैनौँ । उम्मेदवारहरु एउटै भोट भएपनि आफुतिरै परोस भन्ने चाहन्छन् । किनकी एउटै भोट निर्णायक भएका र कतिपय अवस्थामा त मत बराबर भएर गोलाप्रथाबाट निर्णय गरिएका उदाहरणहरु प्रशस्त छन् । र कार्यकर्ता भोटर असन्तुष्टीको कारण ठूलो मात्रामा मतपत्र रद्ध भई परिणाम उलटपालट भएका¸ चुनावपछि पनि मुद्धामामिला परेका प्रशस्त उदाहरणहरु छन् ।

 

यस्तो अवस्थामा एमाले जस्तो स्थापित र अहिले संसदमा सबैभन्दा ठुलो¸ स्थानीय तहमा पनि धेरै बहुमत स्थानमा सरकार हाँकिरहेको पार्टीसंग मुकाविला गर्नको लागि काँग्रेस एक्ले डराइरहेको देखिन्छ । त्यति मात्र होइन । माओवादीलाई नसमेट्ने हो यदि भने रातारात कुनै शक्तिले फेरि एमाले माओवादी मिलाइ हाल्यो भने काँग्रेस फेरि धेरै मत ल्याएर पनि थाङ्नामै थन्किने अवस्था आउन सक्छ । संघीय सरकारमा दोस्रो ठुलो दल भएतापनि सरकार संचालनको कुनै अख्तियारी नपाएको काँग्रेसलाई प्रधानमन्त्रीको कुर्सीमा बिराजमान गराउने¸ केही प्रदेशहरुमा काँग्रेसलाई प्रदेश सरकारको जिम्मेवारीमा पुर्याउनको लागि माओवादी¸ समाजवादीको अमुल्य योगदान भएको कारण पनि काँग्रेस विशेषत प्रधानमन्त्री देउवा माओवादी समाजवादीलाई समेटेर नै अगाडी बढ्ने सोँचमा रहेको देखिन्छ । यस्तो अवस्थामा गठवन्धनको सम्भावना बढिरहेको छ । यदि गठवन्धनले देशव्यापी रुप धारण गर्यो भने मुसिकोटमा के हुनसक्छ ? भन्ने बारेमा संक्षिप्त टिप्पणी ।

 

माओवादीको कुरा गर्दा अहिलेसम्म मेयरको लागि ९ जनासम्मको उम्मेदवारमा छलफल दावी प्रस्तुत भइरहेको बुझिन्छ । हिजोको दिनभरी के के भयो ? जानकारी प्राप्त छैन । तर निर्णय भएको सार्वजनिक संकेत देखिदैन । रुकुम पश्चिमका ६ वटै पालिका माओवादीले जितेका स्थान हुन् । उता काँग्रेसतिर मुसिकोटको मेयरको लागि करिब करिब टुङ्गो लागेको बुझिन्छ । तर आधिकारीक रुपमा सार्वजनिक गरिएको छैन । त्यस्तै ए समाजवादीले पनि मुसिकोटको मेयरमा दावी गरिरहेको अवस्था सुनिन्छ । यी तीनवटै दलका आआफ्नै तर्क दावी सुनिन्छन् ।

 

माओवादीले विगतमा जितेको पालिका छोड्ने कुरा भएन । केन्द्रमा पनि करिब करिब विगतमा जितेको पालिकामा २०७४ को निर्वाचन परिणामलाई समेत आधार मान्ने भनेपछि पहिलो दावी त माओवादीको नै हुने नै भयो । माओवादीभित्र आन्तरिक उम्मेदवार छनौटमा छलफल लम्बिए पनि माओवादीले नै मेयर पाउनुपर्छ भन्नेमा कुनै विवाद छैन होला । कतिपय व्यक्तिगत तिक्तताको कारण “त्यो हुनुभन्दा उही भए पनि हुने हो” भन्ने गुनासा आएतापनि ति गुनासा स्थायी होइनन । छलफल विवादका क्षणिक तरंग मात्र हुन् । समुन्द्रमा ढ्गा हान्दा देखिने छालका तरंगझैँ ति क्रमश टाढाटाढा हुंदै गर्दा हराएर विलाएर जान्छन् । अन्ततोगत्वा असन्तुष्टीहरु पार्टीमै गोलवन्ध हुने सम्भावना देखिन्छ ।

 

काँग्रेसले पनि मुसिकोटको मेयर दावी गर्ने प्रशस्त आधारहरु छन् । रुकुमका पालिकाहरुमा सबैभन्दा कम मतान्तरले निर्वाचन हारेको¸ ५ वडा वडा पालिका जितेको पार्टी काँग्रेस पनि मुसिकोटको मेयरमा शसक्त दावेदार हुने नै भयो । अलगअलग प्रतिस्पर्धाबाटै मेयर जित्ने आशा अपेक्षा गरेको काँग्रेसले मुसिकोटको मेयरमा दावी छाडेको अवस्था देखिदैन । आन्तरिक उम्मेदवार छनौटमा सहमती नजिक रहेको काँग्रेस पार्टीले मुसिकोटको मेयर दावीको जिल्ला तथा प्रदेश र केन्द्रको नेतृत्व एकढिक्काका साथ एकमत अडानमा रहन्छ रहदैन काँग्रेसीजनलाई जानकारी हुने विषय रह्यो । अहिलेसम्मको संकेतहरु बुझ्दा जिल्ला सदरमुकाममा अवस्थित जिल्लाकै राजनीतिलाई प्रभावित पार्नसक्ने रणनीतिक महत्वको मुसिकोट नगरपालिका¸ काँग्रेसको बाहुल्य र व्रचश्व रहेको¸ विगत चुनावमा काँग्रेस जति सबैले काँग्रेसलाई भोट नहाली हारेको पालिका¸ अहिले काँग्रेसले चुनाव जित्ने लिष्टमा राखेको¸ यदि माओवादीले काँग्रेसलाई मेयर दिनै मानेन वा काँग्रेस माओवादी सहकार्यका ढोका बन्द भएको अवस्थामा पनि नेकपा एमालेसंग सहकार्यको ढोका हरहमेशा खुलै रहेको पालिका मुसिकोटमा राजनीतिक आँकलन गर्नु कठिन भएको छ । धेरै सम्भावनाहरु बाँकी नै छन् । सबै सम्भावनाहरु उम्मेदवारी मनोनयनको दिनसम्म कायम नै रहनसक्छन् । त्यस्तै काँग्रेस माओवादी सहकार्य भइनै हालेको अवस्थामा पनि काँग्रेस भित्रैबाट बागी उम्मेदवारीको पनि सम्भावना यहाँ देखिन्छ । तर बागीको उम्मेदवारी फिर्ता हुन पनि सक्छ ।

 

उता समाजवादीको कुरा पनि यस पालिकामा जटिल रहेको छ । २०७४ को निर्वाचनमा नेकपा एमालेबाट सम्मानजनक मतकासाथ तेस्रो लहरमा रहेका मेयरका उम्मेदवार हाल एसमाजवादीतिर हुनुहुन्छ । उहाँको राजनीतिक सक्रियता धेरै छ । कतिपय अवस्थामा बाह्य रुपमा त उहाँको पुर्व पार्टीभन्दा धेरै चहलपहल पनि उहाँले गरिरहनु भएको अवस्था छ । एसमाजवादीले यदि रुकुममा पालिका प्रमुखको दावी गर्ने अधिकार राख्ने हो भने यही मुसिकोट नगरपालिकामा हो । यस हिसावले उहाँहरुको पनि मुसिकोटको मेयरमा दावी स्वभाविक ठहर्छ । तर काँग्रेस र माओवादी नै मुख्य प्रतिस्पर्धी रहेको अवस्थामा समाजवादीले मेयर पाउने सम्भावना कठिन कार्य हो । तर काँग्रेस माओवादी तिव्र प्रतिस्पर्धा हुने र केन्द्रबाट पनि गठवन्धनलाई कायम नै गर्ने अवस्था आयो भने काँग्रेस माओवादी एकले अर्कोलाई स्वीकार नगरेको अवस्थामा एसमाजवादीको भागमा मुसिकोटको मेयरमा भाग्योदय चिठ्ठा पर्न झिनो सम्भावना पनि बाँकी नै छ ।

 

उता एमालेका प्रयासहरु पनि जारी छन् । काँग्रेस माओवादी गठवन्धन नभएको अवस्थामा कांग्रेस एमाले गठवन्धनको सम्भावना अन्तिम समयमा खुल्न सक्ने सम्भावना हो । एमाले एक्लैले यस पालिकामा विजयको दावी गर्ने आधार नदेखिए पनि संगठन विस्तार र राजनीतिक ब्रचश्व बृद्धिको लागि केही रणनीतिक कदम एमालेले चाल्न सक्छ । काँग्रेस माओवादीभित्रका असन्तुष्टीहरुलाई यसले समेट्नसक्छ । त्यस्तै एसमाजवादीले गठवन्धनमा सम्मानजनक स्थान नपाएको अवस्थामा त्यहाँभित्रका केही पक्षहरुलाई पनि आफ्नो पार्टीमा समाहित गर्नसक्छ । तर मुसिकोट नगरपालिकामा एमालेको प्रस्तुतिकरण पार्टीगत अस्तित्व कायम गर्नको लागि संघर्षरत् छ । केही वडाहरुमा लोकप्रिय उम्मेदवारले ठुलो मेहनत गर्न सकेमा केही सुधार होला । काँग्रेस एमाले गठवन्धन भएको अवस्थामा आकस्मिक सकारात्मक राजनीतिक झट्का करेन्ट प्राप्त होला । सामान्य किसिमले एमालेले छलाङ्क हान्नको लागि अंझै मेहनत गर्नुपर्ने देखिन्छ । धन्यवाद ।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार