नरैनापुरमा १५ प्रतिशत मात्र रोपाइँ

नरैनापुरमा १५ प्रतिशत मात्र रोपाइँ

फाईल फोटो

बाँकेको नरैनापुर गाउँपालिकामा वर्षा नहुँदा धान रोपाइँ प्रभावित भएको छ । सिँचाइको व्यवस्था नभएका कारण आकासे पानीको भरमा धानखेती गर्दै आएका नरैनापुरका किसान अहिलेसम्म पनि रोपाइँ गर्न नपाउँदा चिन्तित भएका छन् ।

स्थानीयवासी सोहनलाल यादवले नरैनापुर क्षेत्रमा पर्याप्त वर्षा नभएका कारण अहिलेसम्म करिब १५ प्रतिशत मात्र धान रोपाइँ भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो , “रोपाइँ भएको धान पनि खडेरीले गर्दा सुक्दै गएको छ । ” नरैनापुरमा खडेरीका कारण हालसम्म १५ प्रतिशत मात्रै रोपाइँ भएको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले बताउनुभयो । नरैनापुरमा धान खेती हुने क्षेत्रफल करिब चार हजार दुई सय हेक्टर रहेको जनाइएको छ ।

बर्सात नभएर धान रोपाइँ हुन नसकेपछि नरैनापुर गाँउपालिकाले नरैनापुरलाई सुक्खा क्षेत्र घोषणा गरेको छ । वैकल्पिक सिँचाइको उपाय गरेर लगाएको धानबालीसमेत खडेरीका कारण नष्ट भइरहेको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद साहले जानकारी दिनुभयो ।

बाँकेको अन्य क्षेत्रमा भने धान रोपाइँ भइसकेको छ । जिल्लाका अन्य क्षेत्रमा  ८७ प्रतिशत रोपाइँ भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार सबैभन्दा धेरै नरैनापुरसँग जोडिएको राप्तीसोनारी गाउँपालिकामा शतप्रतिशत रोपाइँ भएको छ ।

वैजनाथ गाउँपालिकामा ९९ प्रतिशत, डुडुुुवा गाउँपालिकामा ९८ प्रतिशत, खजुरा गाउँपालिका, कोहलपुर नगरपालिका र जानकी गाउँपालिकामा ९७ प्रतिशत र नेपालगञ्ज उपमहानगरपालिकामा ९६ प्रतिशत रोपाइँ भएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार