महिला म्यादी प्रहरीलाई स्यानिटरी प्याड

महिला म्यादी प्रहरीलाई स्यानिटरी प्याड

कार्यस्थलमा महिनावारी हुँदा सरसफाइमा सजिलोका लागि महिला म्यादी प्रहरीलाई दैलेख प्रहरीले स्यानिटरी प्याड वितरण गरिएको छ ।

गएको वैशाखमा भएकाे पालिका चुनावमा महिला म्यादी प्रहरीले असजिलो भोगेको भन्ने गुनासोका आधारमा यस पटक स्यानिटरी प्याडकाे प्रबन्ध गरिएको दैलेखका प्रहरी नायब उपरीक्षक (डीएसपी) भुवनेश्वर साहले बताउनुभयो ।

दैलेखका तीन सय ५६ महिला म्यादी प्रहरी र जिल्लाभरका १३ महिला प्रहरीसमेत तीन सय ६९ जना महिला प्रहरीलाई प्याड दिइएको जिल्ला प्रहरी कार्यालय दैलेखको महिला सेल इन्चार्ज एवम् प्रहरी सहायक निरीक्षक (असई) सुशीला भूसालले जानकारी दिनुभयो ।

‘अघिल्लो चुनावमा महिला म्यादी प्रहरीहरूले फिल्डमा गएको बेला महिनावारी हुँदा कष्ट भोगेको भन्ने गुनासो आएकोले यस पटक सामुदायिक प्रहरी कार्यक्रमको साझेदारीमा हरेकलाई तीन प्याकेटका दरले वितरण गर्‍याैँ’, असई भूसालले सुनाउनुभयो ।

कार्यस्थलमा खटिएका महिला म्यादी प्रहरीको स्वास्थ्यप्रति जिल्ला प्रहरी कार्यालय दैलेखले गरेको याे सहयोग भावनात्मक हिसाबले ठूलो भएकाे महिला सशक्तिकरण मञ्च दैलेखका पूर्वअध्यक्ष डिलकुमारी चन्दले प्रतिक्रिया दिनुभयो । चुनावका बेला विकट गाउँमा पुगेका महिला म्यादी प्रहरीलाई स्यानिटरी प्याड वितरणले दत्तचित्तका साथ काममा खट्न सहयोग पुग्ने उहाँकाे भनाइ छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार