भूमेका ९० प्रतिशत वस्तिमा सडक पुर्‍याउन सफल भएका छौँ : अध्यक्ष रामसुर बुढा मगर

स्थानीय सरकारका संस्थापकहरूसँग संवाद-१

भूमेका ९० प्रतिशत वस्तिमा सडक पुर्‍याउन सफल भएका छौँ : अध्यक्ष रामसुर बुढा मगर

स्थानीय सरकारका संस्थापकहरूसँग संवाद-१

स्थानीय तहको निर्वाचन पश्चात रुकुम पूर्वको भूमे गाउँपालिकाले उत्कृष्ट कामहरु गर्दै आएको  छ । गाउँपालिकाले पाँच बर्षको समयमा गरेका काम, काम गर्दाका चुनौती , गाउँपालिकाले गर्ने बाँकी काम र आगामी नेतृत्वका लागि सुझाव लगायतका बिषयमा भूमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढा मगरसँग उजेली न्यूज डटकमले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

तपाई गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएको पाँच वर्ष पनि पुग्नै लाग्यो । यो अवधिमा मुख्य कुन कुन कामहरू गर्नुभयो ?

देश संघीयतमा आई सकेपछि हामी पहिलो पटक स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि हौ । पहिलो पटक निर्वाचित जनप्रतिनिधि हुनु भनेको अवसर र चुनौतिको बिचमा हामीले जिम्मेवारी लिन पर्ने थियो । अवसर त्यो मानेमा थियो कि पहिलो पटक हामीले आफ्नो स्थानीय तहको विकास र सम्वृद्धिको लागि राम्रो वलियो दिगो जग बसाल्नु थियो । चुनौती पनि त्यतिकै हाम्रो अगाडि थियो । सेवा प्रवाहको लागि आवश्यक दक्ष जनशक्तिको अभाव,कार्य सम्पादनको लागि आवश्यक कानुन बनाउनु पर्ने र भौतिक पूर्वधारको अभाव आदि हाम्रो लागि चुनौतीका विषय थिए ।

हामीले गरेको पहिलो काम स्थानीय तहको मुख्य जिम्मेवारी सेवा प्रवाह भएकोले गुणस्तरीय सेवा प्रवाह व्यवस्थापन कार्यदल गठन गरि सो कार्यदलले दिईएको प्रतिवेदन बमोजिम सेवा प्रवाह गर्ने काम भएको छ ।

दोस्रो : सफा र हरियालीस् समृद्ध भूमेको दीर्घकालिन सोचका साथ गाउँपालिकाको शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, सडक यातायात, विद्युत पर्यटन वन,वातावरण आर्थिक विकास लगायतका विभिन्न क्षेत्रहरुको विकास योजनाका लागि एकीकृत गुरुयोजनामा र आवधिक योजना बनाई कार्यन्वयनमा लिई रहेका छौ ।

तेस्रो : देश परिर्वतनका लागि बलिदान दिनुहुने महान शहिदका शहिद परिवार, घाईते अति विपन्न परिवारलाई रु ३० लाख सहकारीको शेयर खरीद गरी सहकारी संचालनमा लिईएको छ ।

चौँथो : गाउँपालिकाको सन्चित कोषबाट तलब लिने कर्मचारी जनप्रतिनिधिहरुबाट वार्षिक २ दिन बराबरको परिश्रम र बार्षिक योजनाबाट जम्मा हुने विपद व्यवस्थापन कोष स्थापना गरी आपतकालिन अवस्थामा राहत दिने काम भएको छ ।

पाँचौ : गुणस्तरीय सेवा प्रवाह र रोजगारीको लागि जनशक्ति व्यवस्थापन गर्न स्वयम् सेवा ऐन जारी गरी शिक्षा, स्वास्थ्य, कृषि, पशु सेवा, वडा कार्यलयमा जनशक्तिको व्यवस्थापन गरी कार्यन्वयनमा लिएको छ ।

छौँठौ : मेन रोड, रिङ रोड र लिङ रोडको अवधारणा बनाई गाउँपालिकाको सबै मुख्य टोलहरुमा सडक सन्जालले जोडन सफल भएका छौँ । गाउँपालिकाको मौलिक र पहिचान झल्कने प्रशासाकिय भवन, पाँच शैया अस्पतालको भवन निर्माण कार्य शुरुवाट स्वास्थ चौकी सामुदायिक स्वास्थ्य इकाईहरुको भवन, विद्यालय भवनहरु निर्माण भएका छन् ।

सातौँ : मानव संसाधन र संस्थागत विकासको लागि विद्यालयहरुको शैक्षिक गुणस्तर विकास गर्न बालमैत्री शिक्षण सूचना प्रविधि सिकाईका क्रियाकलाप संचालन गर्नका साथै संस्थागत विकासका लागि पेशा व्यवसायीक तालिमहरु सञ्चालन भएका छन् ।

आँठौ : आर्थिक विकासका लागी कृषि वन, पर्यटन,जलस्रोत कृषि र वनमा आधारित लघुउद्यमहरुको विकास, यि ४ आधार निर्धारण गरी सोही अनुसार आवश्यक पूर्वाधार निर्माण गर्नुका साथै विभिन्न व्यवसायहरुलाई अनुदान दिने काम भईरहेको छ । माथि उल्लेखित कामका अलबा अन्य थुप्रै काम भएको छ । जो छोटो चर्चामा सम्भव छैन ।

यसरी काम गरिरहँदा आएका आम अपेक्षा र अप्ठेराहरूलाई कसरी सम्बोधन गर्नुभयो ?

यसका लागि पहिलो:- सरोकारवाला पक्षहरुसँग अन्तरक्रिया,छलफल,आवश्यक सल्लाह सुझावहरु लिने काम भएको छ । दोस्रो जनप्रतिनिधि र कर्मचारी मिलेर कार्यलय समयभन्दा अघिपछि छलफल गृहकार्यका साथै कार्यालय समय बाहेक थप समय दिई नियमित कार्य सम्पादन गर्ने काम गरीको छ । तेस्रो विषयगत कार्यलयहरुसँग ताकेता र समन्वय गर्ने काम भएको छ । चौथो:- स्वयम सेवक ऐन जारी गरी स्वयम सेवा र प्राविधिक जनशक्ति करारमा पदपूर्ति गरीको छ । पाँचौ आवश्यक ऐन नियम,कानून निर्माण तथा सोही अनुसार वार्षिक योजना नीति तथा कार्यक्रममा आम अपेक्षालाई समावेश गरी सम्बोधन गर्ने काम गरिएको छ ।

चुनावी घोषणापत्रमा वाचा गरिएका तपाईंका प्रमुख प्राथमिकता के थिए ?

भौतिक पूर्वाधारमा सडक संन्जालले सबै बस्तिमा छुने छ भन्ने थियो । जो ९० प्रतिशत सफल भएका छौ । मानव संसाधन र संस्थागत विकास शुशासन र आर्थिक सम्वृद्धि जो माथि नै आर्थिक सम्वृद्धिका चार आधारको विषयमा छोटो चर्चा गरी नै सकेको छु । सोही अनुसार काम अगाडी बढेको नै छ ।

तपाईको कार्यकालमा गाउँपालिकाबासीले खोजे जस्तो स्थानीय तहको अनुभव गर्न पाए कि पाएनन्

संघियताको पहिलो निर्वाचित जनप्रतिनिधि भएकोले आम नागरिकले खोजे जस्तो पूर्ण रुपमा अनुभव गर्ने गरी दिन सकेको छैनौँ । किनकी हामीसँग थुप्रै अभावहरु थिए । कानून थिएन । काम गर्ने जनशक्ति थिएन । सेवा प्रवाह गर्ने पूर्वाधार थिएन । त्यो बाध्यताको बिचमा मैले आफ्नो कार्यकालमा भूमे बासी जनसमुदायलाई सन्तुष्टी हुने बनाएको छु भन्ने नै लाग्छ ।

गर्न चाहेर पनि नसकिएका काम के के हुन ?

पहिलो कुरा केन्द्रिय सरकारले संविधानको धारा ५७ को अनुसूचि ९ का साझा अधिकार भित्र रहेका विषयमा कानून नै बनाएन कानून नै नबनाएकोले काम नै नगरेर कार्यकाल सकियो । दोस्रो संस्थागत सक्षमताको कमिले गर्दा मगर संस्कृति झल्किने मौलिक र पहिचान सहित भवन मापदण्ड बनाउन सकिएको छैन । तेस्रो कोरोना महामारीले गर्दा विद्यालय सुधारमा जुन उद्देश्य लिईएको थिए त्यति गर्न सकीएन चौथो:- संघ र प्रदेशले गर्ने वित्तिय हस्तान्तरण मिलेको छैन । ससर्त बजेट बढि हुनु, वित्तिय समानीकरणमा कमी आउनुले आफ्नो आवश्यकता अनुसार बजेट रणनैतिक महत्वका आयोजनाहरु कार्यन्वयन गर्नमा समस्या भएको छ ।

देशको सबैभन्दा ठूलो मध्यपहाडि राजमार्ग जोडिएको गाउँपालिका हो । पालिकाभित्रको बाटोलाई मुख्य राजमार्गसँग जोड्न सफल हुनु भयो कि भएन ?

हाम्रो पाँच वर्षको कार्य प्रगतिको विषयमा उल्लेख गरी नै सकेको छु । हाम्रो गाउँपालिकामा मध्यपहाडी राजमार्ग र शहिद मार्गको संघिय सरकारको गौरवको योजनाहरु हुन यी दुवै मार्गले हाम्रो गाउँलाई पूर्व पश्चिम उत्तर दक्षिण प्लस आकारले जोडिएको छ । यो हाम्रो गाउँपालिका लागि गौरबको कुरा हो । अव रहेयो गाउँबस्ती जोड्ने सडक संञ्चालको योजना । हाम्रो भू बनौट र बस्ती बनौटको अवस्थालाई हेर्दा गाउँ गाउँ चुर्दै
जाने सडक खन्दै गर्दा मध्यपहाडी राजमार्गको एकठाउँबाट शुरु गर्दा अन्तिम बिन्दु फेरी मध्यपहाडीको राजमार्गमै जोदिन्छ । त्यसैले मध्यपहाडीको राजमार्गको दक्षिणी र उत्तरी रिङ रोडको नामाकारण गरिएको हो । त्यो रिङ रोड र मुख्य राजमार्ग सँग जोडिन रिङ रोडको अवधारणा राखी ९० प्रतिशत काम गर्न सफल भएका छौ ।

पदावधि सकिन केही दिन मात्र छ, आगामी नेतृत्वका लागि के–कस्तो सुझाव दिनुहुन्छ ?

पहिलो कुरा स्थानीय सरकार नागरीकको नजिकको सरकार हो । सुख दुखको साथी को सरकार हो । यो सरकारको सेवा प्रवाह गर्ने मुख्य जिम्मेवारी छ । यो जिम्मेवारीलाई बुझी योजना बनाई कार्यसम्पादमा लाग्नु पर्ने हुन्छ । दोस्रो कुरा पहिलो कार्यकालका जनप्रतिनिधिहरुले गरेका सकारात्मक कामको अपन्तव लिई थप प्रभावकारी काम गर्नुपर्दछ ।

गाउँपालिका प्रमुख भएको हैसियतले आफनो कामलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?

विभिन्न अभावका बिचबाट सिमित साधन श्रोतलाई अधिकतम भूमे बासीको विकास र सम्वृद्धीको पक्षमा नागरीकको सेवामा आफ्नो व्यक्तिगत काम नगरी रातदिन कार्यलयमै बसेर सेवा प्रवाह गर्ने काम गरीएको छ । मेरो कामको मूल्याङ्कन मैले गर्नु भन्दा आम भूमी बासी जनसमुदायले गर्ने हो । जो लाभग्राही हुनुहुन्छ निश्पक्ष मूल्याकंन गर्ने तेस्रो पक्ष भूमे गाउँपालिका भन्दा बाहिरका स्वतन्त्र व्यक्ति निकायहरु हुनुहुन्छ । उहाँहरुबाट आउने प्रतिक्रियाले मेरो मूल्याकंन सकारात्मक पाईएको छ । यसकारणले म सन्तोष छु ।

तपाई पुनः गाउँपालिकाको प्रमुखमा उम्मेदवार दिने सोचाइमा हुनुहुन्छ कि ?

पार्टी भित्र थुप्रै आंकाक्षा साथीहरु पनि हुनुहुन्छ । यो गाउँपालिका स्वभावैले माओवादीको इपी सेन्टर भएकोले यो स्वभाविक छ । यो हुदा पनि पहिलो कार्यकाल विभिन्न अभाव,समस्या, महामारीका कारण सोचिए जति काम गर्न सकिएको छैन । जति गरिएको छ । त्यति आम भूमेबासी नागरीकले र नेपाल सरकारको मापदण्ड बमोजिमको कार्यसम्पादनमा सन्तोष कार्य प्रगति देखिएकोले बाँकी रहेका कामलाई पुरा गर्न जिम्मेवारी लिनु पर्दछ भन्ने विचारमा छु । पार्टीले निर्णय गर्ने कुरा हो म पार्टीको सकरात्मक निर्णयको अपेक्षामा रहेको छु ।

अन्तमा, समग्र भुमे गाउँपालिका बासीहरुलाई के भन्न चाहनुहुन्छ ?

पहिलो पटक स्थानीय तहको निर्वाचनमा अत्याधिक मतले विजय बनाई स्थानीय सरकारको जिम्मेवारीमा पुग्नने मौका दिनुभयो । ऐन,नीति निर्माण,बजेट तर्जुममा,योजना कार्यन्वयनमा एक रुपताका साथ लागी नमुना गाउँपालिका बनाउने अभियानमा सहयोग गर्नुभयो । त्यसका लागि हार्दिक नमन गर्दछु । साथै आगामी दिनमा पनि विकास र सम्वृद्धिको पक्षमा सँगसँगै हातमालो गरेर जाने काममा लाग्नु हुने नै छ । भन्ने पूर्ण विश्वास गर्दछु ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार