अचेल हाम्रा नायकहरु र निर्दोष जिन्दगीहरु

अचेल हाम्रा नायकहरु र निर्दोष जिन्दगीहरु

दु:खका दिनहरु सँगै
तृष्णाका ज्वाला बोकेर
सुन्दर भविष्यको पर्खाइमा
झिनो अपेक्षा चिहाइरहेका
विक्षिप्त जिजीविषाहरु
र टुकीको मधुरो प्रकाशमा
जीवन गुजारा चलाउने
अँध्यारा झुपडीहरुमा
राजनीति गर्दैछन् अरे हाम्रा नायकहरु।

यो देश मन्दिरहरुको मात्र रहेछ
यहाँ जन्मदैनन् देवताहरु
जन्मन्छन् भ्रष्टाचारी गिद्धहरु
घाइते गर्भहरु तुहाउँदै
धनको थुप्रोमा लडीबुडी खेल्दै
समृद्ध नेपाल जन्माउने सपना बाँड्दैछन् अरे।

सदयौँदेखि घायल मातृभूमि
मेचीकालीका नशाहरु छिचोलेर
घाउ चहराइरहेछ
चहराइरहेको घाउमा नुनचुकको महलम लगाउँदै
गुट उपगुटको जिम्मेवारी वहन गर्दै
होटल र रेष्टुराँहरुमा अचेल
रक्सीको प्याला धोकेर
निर्वस्त्र नाँङ्गै हिड्दैछन् अरे।

देश जलाएर राष्ट्र दोहोन गर्नेहरु
आफ्ना काटिएका नाकका
बुच्चा र कुरुप अर्धकट्टीहरु लिएर
आफ्ना आसेपासेहरु सँगै
सगरमाथाको शिरबाट विश्व सामु
नेपालीहरुको बेइज्जतको मोलतोल गर्दै
भ्रष्टाचारको कित्तामा उभिएर
नेपथ्यबाट देश निल्दैछन् अरे।

यहाँ उक्साउँदैछन् रे मन्थराहरुले कैकेयीहरुलाई
शकुनिहरुले दुर्योधनहरुलाई
कौरव र पाण्डवहरुको जुवाको खालमा
हवन गर्दैछन् अरे युधिष्टिरहरुले द्रौपदीहरु।

कानुनको पालना नगर्ने न्यायमूर्तिहरु
देश हाँक्छौँ भन्नेहरुको रतिक्रीडा
भ्रष्ट र तस्करहरुको सञ्जाल
दाइजोको नाममा जिउँदै जल्ने नारीहरुको चीत्कार
बलात्कारीहरुको बिगबिगी
बेरोजगार र विपन्नहरुको दुर्दशा
यी अनेक विकृतिका डङ्गुरहरु देखेर
धरहराको टुप्पोबाट
अलाप गाउँदैछन् अरे युगहरु।

देश नयाँ निर्माणको होडबाजीमै छ
राष्ट्रिय सम्पत्ति कसले कति हडप्ने भनेर
राष्ट्रवादी र राष्ट्रघाती कहलाउने अभियानको म्याराथुनमा
एकछाक टार्न र एकसरो लाउनका खातिर
रोजगारीका नाममा
पराई मुलुकका गल्लीगल्ली चाहार्न वाध्य पारेर
मातृभूमि पराइलाई सुम्पदै
इतिहास निर्माणकै होडमा छन् अरे हाम्रा नायकहरु।

यताभने आजभोलि
निर्दोष जिन्दगीहरु
जीर्ण पुल र भताभुङ्गे सडककै वरिपरि
धुलो धुवाँ पिउँदै, किचिँदै
पीडैपीडाका घाउहरु बोकेर
अभावैअभावको सगरमाथा आरोहण गर्दै
वाध्यताका जुलुसहरुमा सामेल हुँदै
राजधानी, सहरबजार र चोकचोकहरुमा
जिन्दावाद र मुर्दावादका नारासँगै
अश्रुग्यास र पानीका फोहरनहरुले
जिन्दगीको भोक तिर्खा मेट्दैछन् अरे
जिन्दगीको भोक तिर्खा मेट्दैछन् अरे।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार